समाचार
उपभोक्ता समितिले गरेको कामको अनुगमन र मुल्यांकन गरेर मात्र भुक्तानी दिने-प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी
सिद्ध कुमाख गाउँपालिका भित्रका ५ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई १/१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वडाको वडा कार्यालयमा सञ्चालन भएको अभिमूखिकरण कार्यक्रममा वडा भित्रका निर्माण कार्यहरु गर्नको लागि गठन भएका सम्पुर्ण उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाइ सहभागि गराइएको थियो । अभिमूखिकरण कार्यक्रममा योजना अनुगमन समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी, योजना शाखा प्रमुख विमला खत्री र आर्थिक प्रशासन शाखा प्रमुख गोपाल वलीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष पुष्पा कुमारी बोहराले गाउँपालिका तथा वडास्तरमा रहने अनुगमन समितिलाइ प्रभावकारि बनाउने साथै त्यस कामका लागि उपभोक्ता समितिलाइ सहजीकरण गर्न सचेत गराउदै, उपभोक्ता समितिले सानो गल्ती गर्दा वेरुजु वढेको र अख्तियार सक्रिय रहेको हुदाँ आगामी दिनमा त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । साथै अनुकरणीय काम गर्ने उपभोक्ता समितिलाई सम्माण गर्न सकिने हुदाँ नमुना काम गर्न र आफ्नो ठाउँको विकास आफैले गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी उपभोक्ता समितिबाट काम गर्दा जनसहभागिता तथा अपनत्वको भाव सिर्जना हुने र उपभोक्ता समितिका पदाधिकारीहरुलाइ कागजी प्रकृया पुर्याउन जटिल हुने हुनाले सो समस्यालइ समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको भन्दै उपभोक्ता समितिले गरेको कामको अनुगमन र मुल्यांकन गरेर मात्र भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले बताउनु भयो । १ नं वडा कार्यालय बाझकाँडामा सम्पन्न भएको कार्यक्रममा बोल्दै १ नं वडाका वडाध्यक्ष राम बहादुर बस्नेतले विगतका दिनमा उपभोक्ता समितिमा रहेका अन्यौलहरु यस कार्यक्रमले हट्ने अपेक्षा व्यक्त गर्दै समितिका सदस्यहरुमा सामुहिक जवाफदेहिताको भावना विकसित हुनुपर्ने र खर्च प्रणाली व्यवस्थित गर्नुपर्ने जनाउनुभयो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    